अवैध क्रसर रोक्न जिससको निर्देशन

जनकपुर । मापदण्ड विपरित सञ्चालन हुँदै आएका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला समन्वय समिति धनुषाले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समन्वय समितिको बैठकले ७ बुँदे निर्णय गर्दै धनुषाको नदीजन्य तथा ढुंगा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

जिसस धनुषामा बसेको बैठकले विगतका मापदण्ड अनुसार दर्ता भएका र राजश्व समेत बुझाएका तर नविकरण हुन बाँकी र हाल रित नपुगेका क्रसर तथा प्रशोधन उद्योगलाई बन्द गर्न निर्देशन दिने निर्णय गरेको उपप्रमुख दिपक झाले जानकारी दिनुभयो ।

उहाँले विगतमा दर्ता भएका, आन्तरिक राजश्व कार्यालयमा नियमित कर बुझाउँदै आएका तर हालको मापदण्ड अनुसार अन्यत्र सार्नुपर्ने अवस्थाको क्रसर एवं प्रशोधन उद्योगलाई मापदण्ड पुग्ने स्थानमा तत्काल सार्न सूचित गरिने र त्यहाँको पदार्थको परिमाण र किसिम खुल्ने गरी लागत राख्न लगाउने निर्णय भएको जानकारी दिनुभयो ।

गत शुक्रबार अवैध क्रसर उद्योग सञ्चालकहरुको मिलोमतोमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ मा अवैध उत्खनन् कार्यको विरोध गर्दै आएका २४ वर्षीय दिलिप कुमार महतोको हत्या भएको थियो । हत्यापछि सम्बन्धित निकायहरु अवैध क्रसर उद्योग नियन्त्रणमा सक्रिय भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्