भक्तपुरको गठ्ठाघरमा तरकारी तथा तथा फलफुल बजार संचालनमा आउने

भक्तपुर,  अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले व्यवस्थित र आधुनिक रुपमा तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याउने भएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघर स्थित तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याउने तयारी गरेको हो । यस अगाडि भक्तपुर तरकारी तथा फलफूल बजारको नाममा सञ्चालित बजारलाई अन्नपूर्ण सहकारीले अन्नपूर्ण तरकारी तथा फलफूल बजारको नामबाट थोक तथा खुद्रा बजार सञ्चालनमा ल्याउन लागेको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा अन्नपूर्ण बहुमुखी सहकारी संस्थाका अध्यक्ष देवराज न्यौपानेले भन्नुभयो, “अन्नपूर्ण सहकारी संस्था बहुउद्देश्यीय प्रकृतिको भएता पनि आजसम्म आईपुग्दा बचत तथा ऋणमा मात्र सीमित रहेको र सहकारी ऐनले सहकारी संस्थाहरुलाई उद्देश्य अनुसार अनिवार्य रुपमा कार्यक्रम सञ्चालन गर्न निर्देश गरेकाले तरकारी तथा फलफुल बजार सञ्चालनमा ल्याएका हौँ ।”

किसानहरुले तरकारीको उचित मूल्य पाउन, उपभोक्ताहरुले ताजा तरकारी, फलफूल, दुग्धजन्य र मासुजन्य खाद्यान्न तथा अन्य व्यावसायिक उत्पादन पाउन र मूल्य पनि सस्तो होस भन्ने उद्देश्यका साथ तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको अन्नपुर्ण सहकारी संस्थाका सचिव श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो ।

अन्नपूर्ण तरकारी तथा फलफुल बजारमा एउटै छानामुनि अधिकांश तरकारी तथा फलफुल, मासुजन्य तथा दुग्धजन्य खाद्यान्न उपलब्ध हुनेछन् । करिब आठ रोपनी क्षेत्रफलमा फैलिएको यस बजारमा झण्डै दुई सय वटा स्टल रहनेछन् । यस बजारबाट चार सय जनाले प्रत्यक्ष र एक हजारभन्दा बढीले अप्रत्यक्ष रुपमा रोजगारी पाउने अन्नपूर्ण सहकारी संस्थाले जनाएको छ ।

अन्नपूर्ण तरकारी तथा फलफुल बजारमा किसानहरुले स्टल राखेर वा बजारका कृषि व्यापारीहरुलाई आफ्नो सामान बिक्री गरेर प्रशस्त लाभ लिन सक्ने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्