सहुलियतपूर्ण कर्जाले विभिन्न ६९ वटा नगरपालिकामा फोहरबाट मोहर निकालिने

नेपालमा सहरी फोहोरबाट आधुनिक ऊर्जा उत्पादन गर्न संयुक्त अरब इमिरेट्स (युएई) ले एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

अबुधावीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना) को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा गरिएको हो । नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सहयोग स्वीकार गर्नुभयो । साधारणसभाको विशेष समारोहमा मन्त्री पुनले उक्त सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई छनोट गरेकामा धन्यवाद दिनुभयो ।

मन्त्री पुनका अनुसार उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिनेछ । आइरिनाको प्राविधिक सहयोगमा विभिन्न मुलुकबीच प्रतिस्पर्धा भएको थियो । सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्किना फासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए ।

उक्त फण्डबाट नेपालले ठूला बायोग्यास र नगरपालिकास्तरको फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजनाहरुमा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने सुविधा प्राप्त हुने सम्मेलनमा सहभागी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले जानकारी दिनुभयो । सभामा बोल्दै मन्त्री पुनले नेपालका लागि यो सहयोग महत्वपूर्ण रहेको भन्दै मध्यपूर्वका लगानीकर्ताहरुलाई नेपालको नवीकरणीय र अन्य पूर्वाधार निर्माण कार्यमा सहकार्यका लागि आह्वान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्