CORONA

नेपाल आयल निगमले ग्यास प्लान्ट निर्माण गर्ने, यस्ताे छ तयारी

एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यसको निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको छ ।
आगामी दिनमा मुलुकमा एलपी ग्यास अभाव हुन नदिने नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले बताउनुभयो । उहाँका अनुसार, निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने उद्देश्यसहित झापाको चारआली र धनुषाको महेन्द्रनगरमा ग्यास ‘बोटलिङ तथा रिफिलिङ प्लान्ट’ निर्माण प्रक्रिया सुरु गरेको छ ।
सो कारखाना परिसरमा ग्यास बुलेट भर्ने र झार्ने व्यवस्था समेतको पूर्वाधार निर्माण गरिनेछ । झापामा २९ बिघा र जनकपुरमा १० बिघा जग्गा निगमको स्वामित्वमा रहेको छ । झापा र जनकपुरमा तीन÷तीन हजार मेट्रिक टन क्षमताका ग्यास भण्डारण गृह निर्माण गर्ने योजना निगमको छ । अहिले निगमसँग ग्यास भण्डारण गृह छैन ।
उहाँले पुस २६ गते निगमको ५०औँ वार्षिकोत्सवमा बिक्री वितरण गर्ने ग्यासको लोगो सार्वजनिक गर्ने जानकारीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो “खुला अर्थतन्त्रमा निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर उत्पादन गरी प्रतिस्पर्धा र बिक्री वितरण गर्नेछ, एलपी ग्यासमा अब राज्यको आफ्नै उपस्थिति हुनेछ । खुला अर्थतन्त्रको नीति अनुसार खाना पकाउने ग्यासको उत्पादन, ब्रान्डिङ र बजारीकरणमा सरकारी स्वामित्वको ‘एनओसी ब्रान्ड’ मा बजारमा ग्यास सिलिन्डर आउनेछ ।”
निगमका प्रवक्ता गोइतले ग्यास बोटलिङ, रिफिलिङ प्लान्ट र भण्डारण गृह निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढाइसकिएको छ । त्यसका लागि आशय पत्रसमेत माग गरिसकिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्भाव्यता अध्ययन गर्न झापाका लागि सात र जनकपुरका लागि छ वटा अन्तर्रा्ष्ट्रिय आशय पत्र निगमलाई प्राप्त भएका छन् । भारत, चीन, पाकिस्तान, इरान र बेल्जियमका परामर्शदाता कम्पनीले आशय पत्र भरेका हुन् । अहिले आशय पत्रको अध्ययन भइरहेको जानकारीसमेत उहाँले दिनुभयो ।
सम्भाव्यता अध्ययनमा प्रस्तावित प्लान्ट र भण्डारण गृह स्थापनाको सम्भावना, भौतिक पूर्वाधारको खाका, लागत खर्च, उत्पादन क्षमता लगायतको विषयमा विस्तृत प्रतिवेदन निगमलाई दिनेछन् । सम्भाव्यता अध्ययनका लागि चालू आर्थिक वर्षमा निगमले आठ करोड रुपियाँ विनियोजन गरेको छ ।
प्रवक्ता गोइतका अनुसार आम उपभोक्ताका लागि पाँच, १४.२, १९ किलो र औद्योगिक क्षेत्रका लागि साढे चार सय किलो क्षमताका सिलिन्डर उत्पादन गर्ने योजना निगमको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्