सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ४० पुग्याे

अमेरिकी हवाई आक्रमणमा मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ। ‘कम्तीमा पनि ४० जनाको मृत्यु भएको छ र २१३ जना घाइते छन्,’ समाचार संस्था फार्स न्युज एजेन्सीले भनेको छ।

मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा लाखौं जनताबीच भागदौड मच्चिएको हो। भागदौडमा घाइतेको संख्या समेत बढेर २१३ पुगेको छ। यसअघि समाचार संस्था एसोसियट प्रेसले ३२ जनाको ज्यान गएको र १९० जना घाइते भएको बताएको थियो।

यस घटनापछि सुलेमानीको दाहसंस्कारको कार्यक्रम समेत स्थगित भएको बिबिसीले जनाएको छ। उनको दाहसंस्कारको लागि नयाँ समय घोषणा गर्ने जनाइएको छ।

गत शुक्रबारदेखि विश्व राजनीतिमा इरान र अमेरिका सम्बन्धको चर्चा छ। पहिलादेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेका यी दुई मुलुक सुलेमानीको हत्यापछि आमनेसामने भएका छन्।

बग्दाद विमानस्थलबाट बाहिरिन लागेका बेला शुक्रबार अमेरिकाले ड्रोन आक्रमण गरेर सुलेमानीको हत्या गरेको थियो।

अचानक आफ्नो देशमा निकै लोकप्रिय र प्रभावशाली सैन्य कमाण्डरलाई मारिदिएपछि इरान अमेरिकासँग क्रुद्ध बनेको छ।

सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले सुलेमानी हत्याको कडा बदला लिने चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्