नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी, यस्ता छन् बैठकका एजेण्डाहरु

File Photo

आगामी केन्द्रीय समितिको बैठक र सभामुख पदको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सभामुख टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक बस्न नसकिरहेकाले छिटो उम्मेदवार टुंगो लगाउने दबावमा नेकपा छ । कृष्णबहादुर महरा यौनदुर्व्यवहारको आरोपमा पक्राउ परेपछि रिक्त भएको सभामुख पदमा पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाले दाबी गर्दा नेकपा अनिर्णित छ ।

यसैबीच नेकपाले यही यही पुस २३ गते बोलाइएको केन्द्रीय समितिको बैठकलाई पछि सार्ने तयारी गरेको छ । राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक स्थगित गर्ने तयारी भइरहेको हो ।

कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले भने केन्द्रीय समिति बैठक सार्ने कि तोकिएकै मितिमा गर्ने भन्ने टुंगो आजको सचिवालय बैठकले लगाउने बताउनुभयो ।

तत्कालीन एमाले र तत्कालीन माओवादीबीच पार्टी एकता भएपछि नेकपाको केन्द्रीय समितिको बैठक औपचारिक रुपमा बस्न सकेको छैन । नेकपाको केन्द्रीय समिति चार सय ४१ सदस्यीय छ । केन्द्रीय समितिमा तत्कालीन एमालेबाट दुई सय ४१ र तत्कालीन माओवादी केन्द्रबाट दुई सय जना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्