काठमाडाैँ, उर्जामन्त्री वर्षमान पुनले सरकारले ग्यासको अनुदान हटाएर विद्युत महसुल घटाउन लागेको खुलासा गर्नुभएको छ । उर्जा मन्त्रालयले ग्यासको अनुदान हटाउन र विद्युतको महसुल घटाउने प्रस्ताव अगाडि बढाएको पुनले खुलासा गर्नुभएको हो ।
शुक्रबार राजधानीमा पत्रकारहरुसँगको भेटमा मन्त्री पुनले ग्यासको अनुदान हटेपछि मुल्य दोब्बर हुने र त्यसले विद्युतको आन्तरिक बजार श्रृजना गर्ने बताउनुभयो । ‘हामीले एउटा परिवारले इन्डक्सन चुल्हो, रेफ्रिजरेटर लगायतका घरेलु सामान चलाउँदा खपत हुने १ सय देखि १सय १५ युनिटसम्मको विद्युतको महसुल घटाउने तयारी गरेका छौँ’, पुनले भन्नुभयो, ‘मुल्य घटेपटि विद्युतको बजार बढ्ने देखिन्छ ।‘
उहाँले अहिले पनि २० लाख परिवारले २० युनिट भन्दा कम विद्युत खपत गरिरहेको बताउनुभयो । ’१० युनिट भन्दा कम विद्युत खपत गर्ने ७ लाख परिवार छन्, पुनले भन्नुभयो, ‘हामी उनीहरुलाई विद्युत महसुल नलाग्ने व्यवस्था गर्दैछौँ।‘ उहाँले नयाँ योजना आगामी बजेटबाट लागू गर्ने तयारी भैरहेको उल्लेख गर्नुभयो । १० युनिट भन्दा कम विद्युत खपत गर्ने परिवारहरु गरिबिको रेखामुनी भएकाले उनीहरुले मासिक न्यूनतम ३० रुपैँया तिरे पुग्ने व्यवस्था गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो ।
’३० रुपैँया तिर्दा अपनत्व हुन्छ’, पुनले भन्नुभयो, ‘शुल्क नलिने व्यवस्था गर्दा प्राधिकरणले बिग्रदाँ नबनाउन पनि सक्छ । त्यसैले हामीले थोरै शुल्क लाग्ने व्यवस्था गर्छौँ । ‘उहाँले विद्युत महसुल छुट दिदाँ मासिक २१ करोडको भार विद्युत प्राधिकरणलाई थपिने भएपनि सरकारले बेहोर्ने बताउनुभयो ।
मन्त्री पुनले अमेरिकाको सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन हुनुपर्ने बताउनुभयो । एमसिसीबाट रकम आउने आशामा सरकराले विभिन्न करिडोरमा विद्युत प्रशारण लाइन बनाइरहेको उल्लेख गर्दै एमसिसी पारित गर्नुपर्ने बताउनुभयो । आफू अर्थ मन्त्री भएका बेला एमसिसीका विषयमा छलफल भएको स्मरण गर्दै उहाँले त्यतिबेला होटलमा लगानी गर्ने छलफल भएपनि विद्युततर्फ ल्याइएको उल्लेख गर्नुभयो । ‘अहिले अमेरिकाले त्यसलाई इण्डो प्यासेफिकमा राखेको रहेछ । एमसिसी मात्र होइन युएसएड पनि इण्डो प्यासेफिक भित्रै रहेछ’, पुनले भन्नुभयो, ‘युएसएड चलिरहने अनि एमसिसी नचल्ने भन्ने हुन्न ।‘ उहाँले एमसिसीमा उठेका राजनीतिक प्रश्नहरुमा भने स्पष्ट हुनु आवश्यक रहेको टिप्पिणी गर्नुभयो ।