CORONA

राष्ट्रियसभा सदस्य बन्न गौतमको अस्वीकार, यस्ता थिए गौतमका शर्तहरु

१८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गर्नुभएको छ ।

नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए ।

‘प्रचण्ड कमरेडले दुई जनाबारे के गर्ने पहिला यसमा छलफल गरौं भन्नुभयो’ नेकपाका एक नेता भने, ‘केपी कमरेडले यसमा छलफल नै गर्नुपर्दैन, निर्णय गरौं भन्नुभयो ।’

तर नेता गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन आफ्नै शर्त रहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुन राष्ट्रियसभामा जाने भन्दै उहाँले संविधान संशोधन गर्नुपर्ने शर्त राख्नुभयो ।

तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गौतमको शर्त ठाडै अस्वीकार गर्नुभयो । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न नसकिने र गौतम अहिले प्रधानमन्त्री बन्न पनि सम्भव नभएको ओलीको तर्क थियो ।

त्यसो भए उम्मेदवार नबन्ने नेता गौतमले जवाफ आयो । अर्का नेता श्रेष्ठले भने आफ्नो आकांक्षा नभएको तर पार्टीले अहिले राष्ट्रियसभामा गएर भूमिका खेल भन्छ भने त्यसमा शर्त नराख्ने बताएको नेकपा श्रोतको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्