देउवाले पार्टी समाप्त पार्न खोजे : सुजाता

बुटवल,   नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाउनुभएको छ । उहाँले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस शुन्यमा झर्ने तर्क समेत गर्नुभयो ।

प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताउनुभएको हो । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उहाँले भन्नुभयो, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस शुन्यमा झर्छ ।’

उहाँले भन्नुभयो, ‘यदि पार्टी्भित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ ।’ कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनु पर्ने उहाँको तर्क छ ।

पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ ।

कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उहाँको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने उल्लेख गर्नुभयो ।

शशांक कोइराला, शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘कोइराला परिवार भनेर मात्रै होइन, कांग्रेसमा योगदान गरेको इतिहास पनि छ । जो भए पनि मिलेरै अगाडि बढ्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्