डडेल्धुरा, नेपाल भ्रमण वर्ष २०२० सफल पार्न डडेल्धुराको अमरगढी नगरपालिकाले ‘घुम्न जाऔं अमरगढी’ अभियान संचालन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० सुरुवातको अवसरमा डडेल्धुरा सदरमुकामा आयोजित कार्यक्रममा ‘घुम्न जाऔं अमरगढी’ अभियान सफल पार्नका लागि नगरप्रमुख विशेश्वरप्रसाद ओझाको संयोजकत्वमा ६ सय जनाको मूल समिति निर्माण गरिएको छ । अमरगढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, अमरगढीभित्र अध्यापन गराइरहेका शिक्षक, स्वयंसेविका, यहाँका व्यवसायीलगायतको सहभागितामा उक्त समिति गठन गरिएको छ । डडेल्धुराको सदरमुकाममा नेपाल सरकारको तर्फबाट सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो । उक्त कार्यक्रममा डडेल्धुराबाट प्रतिनिधित्व गर्ने प्राय सबै जनप्रतिनिधिको सहभागिता रहेको थियो । जिल्लाका सबै स्थानीय तहरूले आ–आफ्नो क्षेत्रमा भएका पुराना कला संस्कृतिको प्रचारप्रसार गर्न अभियान नै सञ्चालन गर्ने जनाएका छन् ।
घुम्न जाउँ अमरगढी अभियान सफल पार्न समिति गठन
