CORONA

अस्ट्रेलियाको तटीय क्षेत्रका हजारौँ नागरिक आगलागीबाट बच्न समुद्री किनारमा पुगे

अस्ट्रेलियाको तटीय क्षेत्रका हजारौँ नागरिक आगलागीबाट बच्न समुद्रको किनारमा पुगेका छन् ।

मंगलबार बिहान भिक्टोरियाको शहर मल्लकोटामा रहेको मानवबस्तीतिर आगो फैलन थालेपछि ज्यान जोगाउन भन्दै नागरिक समुद्री किनारमा पुगेको अन्तरराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

भिक्टोरियामा खाना, पानी र अरु सामाग्री पुर्‍याउन जलसेनाको जहाज बोलाउने तयारी भैरहेको खबरमा उल्लेख छ । यस्तै सिड्नी र मेलबर्न जोड्ने सडक पनि आगलागीका कारण बन्द भएका छन् ।

अहिलेसम्म आगलागीमा परेर १० जनाको ज्यान गएको छ भने ७ जना सम्पर्क्विहीन भएका छन् । सोमबार न्यु साउथ वेल्समा आगो निभाउने क्रममा एक जना स्वयंसेवक अग्नी नियन्त्रकको ज्यान गएपछि सेप्टेम्बर यता आगलागीमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको हो ।

अहिले पश्चिमी सिड्नीको ठूलो भूभागसहित देशका सयभन्दा धेरै ठाउँमा लागेको आगोका कारण देशभरि नै तापक्रम बढिरहेको छ । केही महिनादेखि अस्ट्रेलियाको जङ्गलमा लागेको आगो लु र तीव्र गतिको हावाको कारण झन् फैलिएको छ ।

अस्ट्रेलियामा जङ्गलमा लागेको आगो समुद्रको किनारमा बसेको लोकप्रिय पर्यटक शहर मल्लकोटसम्म पुग्दा त्यहाँ बिदा मनाउन आएका हजारौँ पर्यटक र स्थानीय फसेका छन् । स्थानीय अधिकारीहरुका अनुसार आगलागीबाट मल्लकोटमा मात्र चार हजार मानिस फसेका छन् ।

अधिकारीहरुले कैयौँ दिनदेखि अस्ट्रेलियामा बिदा मनाइरहेका तीस हजार पर्यटकलाई इलाका खाली गर्न चेतावनी दिइरहेका छन् । यतिखेर अस्ट्रेलियाका धेरै इलाका आगलागीको चपेटामा परेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्