CORONA

पर्यटन विकासका लागि ग्रेट ट्रेल आवश्यक : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा दोस्रो चरणको पर्यटन मार्ग (ग्रेट ट्रेल) निर्माण कार्य सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले सो पैदल मार्ग निर्माण सुरु गरेको हो । काठमाडौं, भक्तपुर लगायत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ग्रेट ट्रेल निर्माण भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । वडा नं. ६ र १ को बीचबाट पहिलो चरणको कार्य सुरु गरिएकोमा दोस्रो चरणमा वडा नः ३ को नागिडाँडाबाट सुरु भएको छ ।
हेलम्बु हिमालयन ग्रेट ट्रेल नामकरण गरिएको सो मार्ग हेलम्बुु–३ बुद्घपार्कबाट सुरु भएर सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङ्गगुफा, सेमीसिदाङ्ग, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ । ६० किलोमिटर लामो ग्रेड ट्रेल हेलम्बुको मात्र नभई देशकै गौरवको आयोजना भएकाले यसमा सरकारले लगानी गर्ने हो भने करिब १० वर्ष्भित्रमा लगानी उठ्ने अध्यक्ष शेर्पाको दाबी छ । नेपालको घुम्नै पर्ने ठाउँमध्ये सिन्धुपाल्चोकको हेलम्बु पनि रहेको र हेलम्बुको पनि ग्रेट ट्रेल निर्माणपछि उल्लेख्य रुपमा पर्यटक भित्रने गाउँपालिकाले विश्वास लिएको छ ।
६० किलोमिटरको ग्रेट ट्रेलमा ३ अर्ब ५० करोेड कुल लागत अनुमान गरिएको छ । धेरै लागत लाग्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र निर्माण कार्य सम्भव नभएकाले यस आर्थिक वर्षमा संघीय सरकारबाट १ करोड विनियोजित भएकोले आयोजनालाई गति दिन सहयोग मिलेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
पर्यटन प्रवर्धनमार्फत गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण सुरु गरिएको शेर्पाले बताउनुभयो । ‘ठूलो लागत पर्ने भएकाले गाउँपालिकाको बजेटले मात्र सम्भव नभएको भन्दै माथिल्लो सरकारसँग निरन्तर हातेमालो गर्दै पर्यटन मार्ग लगायत अन्य विकासनिर्माणको कामलाई अगाडि बढाउँदै जाने अध्यक्ष शेर्पाको भनाइ छ । काठमाडौबाट नजिकको पर्यटकीय गन्तव्य सिन्धुपाल्चोकको हेलम्बुमा काठमाडौमा आउने सम्पूर्ण पर्यटकलाई हेलम्बु भित्र्याउने लक्ष्य गाउँपालिकाले लिएको छ । हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, याङ्ग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने र ८० प्रतिशत हिमाल देखिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्