मकवानपुरमा भएको सुमो दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

फाइल तस्बिर

मकवानपुरमा भएको सुमो दुर्घटनामा मृतकको संख्या ५ पुगेको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना भएको हो । हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो दुर्घटना भएको हो । दुर्घटनामा परी तीन जनाको घटना स्थलमानै मृत्युभएको थियो । घटनास्थलमा मृत्यु हुनेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका ८ का ५८ वर्षीय नेत्रमान रुसाल (भुजेल), भुजेलका पत्नी ५२ वर्षीया भक्तकुमारी रुसाल र रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ९ का केदार तिमल्सिना रहेका छन् । सुमो सञ्चालक र चालकको लापर्वाहीका कारण दुर्घटना भएको प्रहरीको आशंका छ । यस्तैमा दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहटको चन्द्रपुर नगरपालिका ९ का २१ वर्षीय मनिष विकको काठमाडौँको मनमोहन अस्पतालमा र सोही स्थानका २० वर्षीया सिर्जना विकको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी सुमोमा सवार चार जना यात्रु घाइते भएका थिए । घाइते हुनेमा सुमोका चालक हेटौँडा उपमहानगरपालिका १७ का २८ वर्षीय अनिल विक, सर्लाही जिल्ला बागमती नगरपालिका ३ का २७ वर्षीय रन्जित रिजाल, रौतहट जिल्ला माधवनारायण नगरपालिका ५ का ५२ वर्षीय जय साह र रौतहटकै गरुडा नगरपालिका ५ का ३० वर्षीय नन्दकिशोर साह छन् । सुमो चालक विक र नन्दकिशोर साहको मेडिसिटी अस्पतालमा तथा जैसा साह र रिजालको वयोधा अस्पतालमा उपचार भइरहेको छ । सुमो अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्