ककनीमा सामुदायिक मेलमिलाप तालिम सुरु

नुवाकोट, नुवाकोटको ककनीमा सामुदायिक मेलमिलाप तालिम शुक्रबारबाट सुरु भएको छ । ककनी गाउँपालिका न्यायिक समितिको आयोजना तथा प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने उद्देश्यका साथ तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा ककनी गाउँपालिकाका अध्यक्ष मान बहादुर लामाले तालिममा सिकेको कुरालाई समुदायमा लगानी गर्न सुझाव दिनुभएको छ । यस्तै कार्यक्रममा बोल्दै न्यायिक समिति संयोजक तथा ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामा खतिवडाले सामुदायिक मेलमेलाप केन्द्रमा मेलमिलापकर्ताको अभाव भएकाले समुदाय स्तरमा न्यायमा पहुँच बढाउन तालिमको आयोजना गरेको उल्लेख गर्नुभयो । आगामी दिनमा मेलमिलाप केन्द्रहरुमा खटिने मेलमिलापकर्ताहरुले आफ्नो सकारात्मक पहिचान राख्न समेत सक्षम हुने धारणा राख्नु भयो । यसैगरी उपाध्यक्ष खतिवडाले ककनीमा न्यायिक समितिलाई सुरक्षाकर्मी लगायत अन्य सरोकारवालाहरुले गरेको सहयोग, समन्वयको उच्च प्रशंशा समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै ८ वटै वडाका वडा अध्यक्षहरुले टोलटोलमा हुने विवादमा मेलमिलापकर्ताहरुले कुनै पनि पूर्वाग्रह नराखि निष्पक्ष ढंगले विवाद समाधान गर्नुपर्ने र आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको समेत उल्लेख गर्नुभयो । दुबै पक्षलाई कुनै तनाव नदिई सहज ढंगले विवाद सुल्झ्याउनु मेलमिलापकर्ताको भूमिका रहने प्रष्ट पार्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल ककनीका प्रमुख तथा बरिष्ठ प्रहरी उपरीक्षकले स–साना विवादलाई गाउँस्तरमा मिलाउन सके ठुलो झन्झटबाट मुक्त हुन सकिने र ठुलो फौजदारी रुप नलिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका प्रतिनिधि सिताराम पौडेलले शान्तिपूर्ण अभियानले शान्तिपूर्ण समाज निर्माण गर्ने भन्दै मेलमिलाप केन्द्रलाई सस्थागत र व्यवस्थित बनाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
मेलमिलापकर्ताले तालिममा सहभागी भई वडामा सूचिकृत हुनुपर्ने र गाउँपालिकामा सुचिकृत भएपछि गाउँस्तर र वडामा मेलमिलापकर्ताको रुपमा काम गर्न पाउनेछन् । मेलमिलापकर्तालाई सामान्य भत्ता र पोशाकको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । तालिम ८ दिनसम्म जारी रहनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्